हेटौंडा \ मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ३१ औँ वार्षिक साधारण सभा आइतबार भएको छ । नेपाल सरकारले गठन गरेको सहकारी नियमन प्राधिकरणको निर्देशन अनुरुप संघका अध्यक्ष हरिप्रसाद कंडेलको सभाध्यक्षतामा सभा सञ्चालन गरिएको थियो ।
संघले सभाको अवसरमा विभिन्न व्यक्ति तथा दुध संकलन गरि बिक्री गर्ने संस्थालाई नगद सहित पुरस्कृत गरिएको छ । संघमा धेरै दुध बिक्री गर्ने चेतनशिल दुग्ध उत्पादक सहकारी संस्था प्रथम भएको छ भने मनकामना दुग्ध उत्पादक सहकारी संस्था द्धितीय र उज्वल दुग्ध उत्पादक सहकारी संस्था तृतीय स्थान हासिल गरेको संस्थाका व्यवस्थापक दामोदर अधिकारीले बताए ।
त्यस्तै, गुणस्तर दुध बिक्री गर्नेतर्फ अमुल्य कृषि सहकारी संस्था प्रथम भएको छ भने बाराही दुग्ध उत्पादक सहकारी संस्था द्धितीय र पाथीभरा दुग्ध उत्पादक सहकारी संस्था तृतीय भएको छ । संघले उत्पादन गरेको दुधजन्य पदार्थ खरिद गर्ने तर्फ चेतनशिल दुग्ध उत्पादक सहकारी संस्था प्रथम भएको छ । किसान दुग्ध उत्पादक सहकारी संस्था द्धितीय र नारायणी दुग्ध उत्पादक सहकारी संस्था तृतीय भएको छ । त्यस्तै धेरै प्रकारका दुधपदार्थ खरिद गर्ने महाकाली दुग्ध उत्पादक सहकारी संस्थालाई विशेष पुरस्कृत गरेको छ ।
त्यस्तै, संघले संघमा कार्यरत पूर्व कर्मचारीलाई व्यक्ती सम्मान गरेको छ । जसमा संघका पूर्व व्यवस्थापक कुमारमणि दाहाल, कार्यक्रम ईन्चार्ज तथा चिसे प्रमुख विदुर हुमागाई, उमेरहदका कारण सेवा निवृत भएका डेरी ब्वाई तोयनाथ पुडासैनी, सफाई सहयोगी कान्छीमाया देउलालाई सम्मान गरिएको थियो । सभामा संघका अध्यक्ष कंडेलले संघको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समितिको प्रतिवेदन संयोजक वीरबहादुर गोले र लेखा परिक्षणको प्रतिवेदन व्यवस्थापक दामोदर अधिकारीले प्रस्तुत गरेका थिए । त्यस्तै, आव २०८२\०८३ को प्रस्तावित बजेट संघका लेखापाल सन्तोष घिमिरेले प्रस्तुत गरेका थिए ।
संघले आव २०८१\०८२ मा बिक्रीबाट आम्दानी एक अर्ब ७ करोड ६ लाख ३० हजार ८४६ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेख छ । एक करोड १३ लाख शेयरपुजीँ रहेको संघमा ४२ करोड १ लाख ७९ हजार ७६४ रुपैयाँको वित्तीय स्थिती विवरण रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
सभामा संघका सल्लाहकार नारायणप्रसाद देवकोटा, बद्रीप्रसाद लम्साल, विदुर हुमागाई, खीलप्रसाद चौलागाई, निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, लेखा समितिका संयोजक वीरबहादुर गोले, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

