हेटौँडा \ हेटौँडा ८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशनको पूर्ण पालना गर्दै आफ्नो २६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । सहकारी नियमन प्राधिकरणले गत भदौ १७ गते बचत तथा ऋण सहकारीको साधारण सभालाई मितव्ययी र सदस्य केन्द्रित गर्न जारी गरेको ८ बुँदे निर्देशन बमोजिम संस्थाका शेयर सदस्यहरूको मात्र उपस्थितिमा साधारणसभा  गरेको व्यवस्थापक केशव कुमार शाहीले जानकारी दिए ।

प्राधिकरणले सम्बिन्धत सहकारीको सदस्य नभएको तथा नियमन निकायका कर्मचारी वा पदाधिकारीलाई साधारणसभामा सहभागी नगराउने, उद्घाटनसत्र, आसनग्रहण, मन्तव्यलगायतका औपचारिक समय व्यतीत गर्ने क्रियाकलाप नगरी सिधै साधारणसभाको एजेण्डामा प्रवेश गर्ने, अतिथि सत्कार, यातायात खर्चलगायतका फजुल खर्च नगर्न सबै बचत तथा ऋण सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।

साधारणसभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन एवम् लेखा सुपरीवेक्षण समितिका प्रतिवेदन गहन छलफलसहित विभिन्न १० वटा प्रस्तावहरु पारित गरेको छ । संस्था अध्यक्ष मोतीलाल लामाले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष उमानाथ आचार्यले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक यशोदा कुमारी उप्रेतीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

११२० जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी १ करोड ६ लाख ७८ हजार रुपैयाँ, निक्षेप (बचत) ३ करोड ७८ लाख ८९ हजार रुपैयाँ, ऋण (कर्जा लगानी) ५ करोड ६२ लाख १५ हजार रुपैयाँ रहेको संस्थाका व्यवस्थापक शाहीले बताए ।

कार्यक्रममा मासिकी कारेबार गर्नेमा चंचला देवी सापकोटा, मैया रिजाल र उमा चापागाई, धितोतर्फ सजिना डिम्डुङ, विना धितोतर्फ राजेन्द्र तिमल्सिना र हर्कबहादुर थिङ, बाल बचततर्फ आयूष्मान थापा र रिदम स्याङतानलाई प्रमाणपत्रले पुरस्कार प्रदान गरेको छ । यसैगरी एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छात्र-छात्रा गरी ३ जनालाई पुरस्कार प्रदान गरिएको थियो ।

संस्था अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष ध्रुवराज पुडासैनीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहकारीका सञ्चालक समितका पदाधिकारीहरु, लेखा समिति , शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।