हेटौँडा \ हेटौँडा–५, पिप्लेस्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौँडा–५ स्थित बालकुमारी पार्टी प्यालेसमा सहकारीकी अध्यक्ष जानकी चौधरीको सभाध्यक्षतामा साधारण सभा भएको हो ।
२ हजार २ सय जना महिला र १ हजार ३ सय ६६ जना पुरुष गरी ३ हजार ५ सय ६६ जना शेयर सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०८१/०८२ मा शेयर पूँजी ३ करोड ६० लाख ७९ हजार रुपैयाँ रहेको छ । सहकारीको जगेडा कोषमा २ करोड ८९ लाख ३१ हजार रुपैयाँ रहेको छ । सहकारीले गत आर्थिक वर्ष २०८१/०८२ मा ३३ करोड १६ लाख ४६ हजार ४ सय ५ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
सहकारीले गत आर्थिक वर्ष २०८१/०८२ मा आफ्ना शेयर सदस्यहरुलाई सुत्केरी स्याहार खर्चबापत ३ हजारका दर ५ जनालाई १५ हजार, उपचार खर्चबापत ७ जनालाई १० हजारका दरले ७० हजार र २१ जना शेयर सदस्यको मृत्यु काजकिरियावापत परिवारलाई १ लाख ८१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । गत आर्थिक वर्षमा संस्थाको कुल खर्च ४ करोड ८४ लाख ३८ हजार रुपैयाँ रहेको छ । प्रत्येक वर्ष झै यो वर्ष पनि सहकारी उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको हो । सहकारी यो वर्ष जेष्ठ नागरिकतर्फ १२ जना, उत्कृष्ट बचतकर्तातर्फ ५ जना, उत्कृष्ट ऋणीतर्फ २ जना र उत्कृष्ट विद्यार्थीतर्फ ६ जनालाई सम्मान गरिएको सहकारीका निमित्त व्यवस्थापक प्रकाश बहादुर खनालले जानकारी दिनुभएको छ ।

