हेटौंडा \ हेटौंडा २ देवीपथमा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिवार भएको छ । साधारण सभामा संस्था अध्यक्ष मिठाराम दाहालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष केशव प्रसाद देवकोटाले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक तेजप्रसाद रुपाखेतीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । सभामा शेयर सदस्य अर्पण पराजुलीले सहकारी संस्था, शेयर सदसय र सरोकारवालाहरुले गर्नु पर्ने कार्यहरुको बारेमा कार्यपत्र पेश गरेका थिए ।
संस्था अध्यक्ष दाहालको सभाध्यक्षतामा भएको साधारणसभामा संस्था सञ्चालक समित, लेखा समिति, शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको परिपत्र अनुसार साधारणसभामा अन्य सहकारी संस्थालाई आमन्त्रण नगरिएको ब्यवस्थापक बद्री प्रसाद भण्डारीले बताए ।
साधारणसभामा पुरस्कृत हुने ज्येष्ठ शेयर सदस्य, असली बचतकर्ता, असली कारोवारी, उत्कृष्ट बाल बचतकर्ता,एसईइ मा उत्कृष्ट अंक हासिल गर्ने , स्नातकमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी र उत्कृष्ट कर्मचारीलाई २०८३ बैशाख ३ गतेका दिन पुरस्कृत गरिने संस्थाले जनाएको छ ।
संस्थाको शेयर पूजी २ करोड ९१ लाख ९८ हजार, बचत ३६ करोड ३३ लाख ४३ हजार, ऋण लगानी २९ करोड ५२ लाख ६४ हजार र जगेडा कोषमा ३ करोड ५० लाख रहेको छ । संस्थामा १ हजार १ सय ६८ पुरुष, १ हजार ४ सय ९६ महिला र संस्थागत ६ समेत गरि कुल २ हजार ६ सय ७० जना शेयर सदस्यहरु रहेका छन ।

