काठमाडौँ \ नेपालको बैङ्किङ प्रणाली साँच्चिकै पारदर्शी, अनुशासित र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने अब स्पष्ट हुने भएको छ । प्रणालीगत सुधार गर्दै बैङ्किङ क्षेत्रलाई दीर्घकालीन रूपमा स्थिर, स्वस्थ र आत्मनिर्भर बनाउन बैङ्कको अन्तर्राष्ट्रिय लेखा परीक्षणमार्फत त्यस्तो लेखाजोखा गर्न लाएिको छ ।

नेपालको बैङ्किङ इतिहासमै पहिलो पटक विदेशी लेखा विशेषज्ञको निगरानीमा १० ठुला वाणिज्य बैङ्कको पूर्ण लेखा परीक्षण गर्ने प्रक्रिया अगाडि बढेसँगै विदेशी लगानीकर्ता र आमजनताको बैङ्किङ प्रणालीप्रतिको भरोसा पनि बलियो बनाउने अपेक्षा गरिएको छ । यसका लागि अन्तर्राष्ट्रिय दबाब, कर्जामा शङ्का र पारदर्शिताप्रतिको चासो मुख्य रूपमा रहेको छ ।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रोशनकुमार सिग्देलका अनुसार सम्भवतः यही बिहीबारसम्म लेखापरीक्षण गर्न बङ्गलादेशको हाउलादार युनुस एन्ड कम्पनीसँग सम्झौता हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँगको विस्तारित कर्जा सम्झौताको सर्त अनुसार, बङ्गलादेशको लेखा कम्पनी हाउलादार युनुस एन्ड कम्पनीले नेपालका १० बैङ्कको लेखाजोखा गर्ने भएको हो ।

१० वटा बैङ्कमा ग्लोबल आइएमई बैङ्क, नबिल बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, लक्ष्मी सनाइज बैङ्क, प्रभु बैङ्क, हिमालयन बैङ्क, नेपाल बैङ्क लिमिटेड र एनआइसी एसिया बैङ्क रहेका छन् । सम्पत्तिको आकार अनुसार कर्जा तथा निक्षेप पनि ठुलै हुने भएकाले धेरै सम्पत्ति भएका शीर्ष १० बैङ्कको पूर्ण लेखा परीक्षण हुने राष्ट्र बैङ्कले जनाएको छ ।

ठुला बैङ्कहरूको कर्जा प्रवाह, जोखिम मूल्याङ्कन र वित्तीय पारदर्शिता परीक्षण गरिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । विगतमा बैङ्कले ‘इभर ग्रिनिङ’ जस्ता अभ्यासमार्फत खराब कर्जा लुकाएको आशङ्का भएपछि आइएमएफले निष्पक्ष अन्तर्राष्ट्रिय अडिटरमार्फत लेखा परीक्षण गराउन आग्रह गरेको थियो ।

नेपाल सरकारले वित्त क्षेत्र र मौद्रिक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको विस्तारित कर्जा सुविधाका लागि सम्झौता गरेको थियो । आइएमएफसँग २०७८ पुसमा नै उक्त सम्झौता भएको थियो । कोषले नेपाल सरकारलाई सात किस्तामा ३८ महिनाभित्र विस्तारित कर्जा सुविधा अन्तर्गतको सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । सोही कर्जा सम्झौताको एउटा सर्त अनुसार वाणिज्य बैङ्कहरूको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नका लागि बङ्गलादेशी कम्पनी छनोट गरिएको हो ।

नेपाल राष्ट्र बैङ्कको सम्पत्ति व्यवस्थापन विभागले हाउलादरसँगको सम्झौता सकेपछि सुपरिवेक्षण विभागको जिम्मा लगाउने छ भने सुपरीवेक्षण विभागसँगको सहकार्यमा लेखा परीक्षणको काम हुने कार्यकारी निर्देशक सिग्देलले बताउनुभयो ।