काठमाडौं \ अघिल्लो महिना ९वैशाख २०८१०मै रेकर्ड तोडेर अगाडी बढेको निर्यात व्यापार साढे २ खर्ब नजिक पुगेको छ । वैशाखसम्म २ खर्ब १८ अर्ब पुगेको निर्यात जेठ मसान्तसम्म २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख पुगेको छ । चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिना (साउन–जेठ) सम्म निर्यात गत आवको यसै अवधिको तुलनामा ७७.७७ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्ष यसै अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । यसवर्ष वनस्पति तेलको निर्यातले छलाङ मार्दा त्यसले समग्र निर्यातलाई कीर्तिमानी विन्दुमा पुर्याएको हो । भन्सार विभागका अनुसार जेठसम्म आयात १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १३.१५ प्रतिशत माथि हो । गत आवमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
पछिल्लो एक महिनामा आयात समेत १ खर्ब ७० अर्ब रुपैयाँ हाराहारीको भएको छ । समग्र वैदेशिक व्यापार वैशाखको तुलनामा जेठमा २ खर्ब रुपैयाँ बराबरको भएको देखिन्छ । वैदेशिक व्यापारको आकार जेठमा १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । वैशाखमा १६ खर्ब ९२ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापारको आकार रहेको थियो ।

