मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले २६ औं स्थापना दिवस मनाएको छ । विभिन्न कार्यक्रम गर्दै सहकारीले मंगलबार उत्कृष्ट व्यवसायी सदस्य सम्मान तथा समापन कार्यक्रम गरेको हो ।

संस्थाका अध्यक्ष पार्वती फुयाँलको अध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । समापनमा सहकारीले संस्थाबाट कर्जा लिएर व्यवसाय गर्दै आएका गाइपालनतर्फ धनमाई अधिकारी, नुमादेवी फुयाँल, चन्द्रमाया हुमागाई र लक्ष्मी तिमल्सिनालाई सम्मान गरिएको थियो भने बाख्रापालनतर्फ मोतिमाया भ्लोनलाई सम्मान गरिएको थियो ।

सहकारीले स्थापना दिवसकै अवसरमा २ गते लिंगेडाँडामा २४ जना सदस्यहरुको सहभागितामा वित्तीय व्यवस्थापन परामर्श कार्यक्रम गरिएको संस्थाका व्यवस्थापक मेनुका कुमारी न्यौपानेले बताईन् । त्यस्तै सोही दिन ज्योति प्राथमिक विद्यालयका २२ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको उनले बताईन् ।

सहकारीले दिवसकै अवसरमा ४ गते सहकारी संस्थाका लामो समयदेखी बचत र ऋणको कारोबार गर्दै आइरहेका तर पछिल्लो समय शारिरीक अशक्तक्ता रहेका मकवानपुरगढी ५ का लीलावती दंगाल, सन्तमाया राई र नन्दकुमारी श्रेष्ठ, मकवानपुरगढी ६ का सञ्चकुमारी न्यासुरलाई भेटघाट कार्यक्रम गरिएको व्यवस्थापक न्यौपानेले बताईन् ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बजगाई, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, जनहित स्वावलम्बन साकोसका अध्यक्ष खडानन्द न्यौपाने, संस्थाका लेखा समिति संयोजक सुलोचना स्याङ्तान, ग्रामीण महिला सेवा केन्द्रका सचिव अचला शर्मा लगायतको आतिथ्यता रहेको थियो ।