हेटौंडा \ हेटौंडा ५ पिप्ले स्थित संजीवनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ४ दिने कोन र बाटे धुप बनाउने तालिम सञ्चालन गरेको छ । संस्थाका महिला शेयर सदस्यलाई आत्मनिर्भर र उद्यमशीलता तर्फ जोड्नका लागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष जानकी चौधरीले बताईन् ।

संस्थाले गृहिणी महिलाहरुको आर्थिक पक्ष बलियो बनाउनको लागि सीपमूलक तालिम प्रदान गरिएको अध्यक्ष चौधरीको भनाई रहेको छ । चार दिन सम्म सञ्चालित तालिममा २१ जना महिलाहरुको सहभागिता रहेको उनले बताईन् । संस्था र संस्थामा गठित लैंगिक समानता तथा महिला परिचालन उपसमितिले तालिमको आयोजना गरेको हो । तालिमलाई अम्बिका खतिवडाले प्रशिक्षण दिइरहेकी छिन् । तालिम पश्चात महिलाहरुले सीपलाई व्यवहारमा उर्तानु हुनेछन् भन्ने विश्वास रहेको संस्थाका अध्यक्ष चौधरीले बताईन् ।

रु.४४ करोड ८९ लाख ६७ हजार ९०७ रुपैयाँको कुल सम्पति रहेको सहकारीले चैत्र मसान्त सम्ममा शेयर सदस्यलाई ३३ करोड ६२ लाख ७ हजार २५२ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक प्रकाश खनालले बताए । सहकारमा ३६ करोड २१ लाख ५ हजार १४३ रुपैयाँ बचत निक्षेप रहेको छ । तीन हजार ५२१ शेयर सदस्य रहेको सहकारीमा तीन करोड ५६ लाख ३५ हजार ९ सय शेयरपुजीँ रहेको व्यवस्थापक खनालले बताए ।