हेटौँडा \ हेटौँडामा एक दिवसीय सहकारी सुशासन, प्रविधि र एकीकरण विषयक अनुशिक्षण कार्यक्रम मंगलबार भएको छ । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।
संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी विकास वोर्डको कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै देवकोटाले सहकारीमा आएको पछिल्लो घटनाले सबैक्षेत्रमा संशकित भएको बताए । मकवानपुरको हकमा भने सहकारी त्यस्तो समस्या नरहेको भन्दै उनले सहकारीको नीति र विधिमा रहेर काम गर्न आग्रह गरेका छन् ।
उनले विभागले जस्तै स्थानीय सरकारले पनि सहकारीमा ऋणको भाखा नघाउने सदस्यहरुलाई कानुनी दायरामा ल्याउन मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । स्थानीय तहबाट विभिन्न सिफारिस रोक्नुका साथै सदस्यहरुलाई सहकारीले झक्झकाउनुपर्ने बताए । उत्पादनसँग जोडर लगानी गर्न अनुरोध गर्दै देवकोटाले सहकारीमा सुशासन र प्रविधिमैत्री बनाई सेवा प्रदान गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका उपाध्यक्ष मेनका दाहाल, हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, संघका उपाध्यक्ष शर्मिला डंगोलले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लब तिमल्सिना, हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, अडानका केन्द्रीय सदस्य प्रकाश ढकाल, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाललगायतको आथ्यिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लब तिमल्सिनाले सहकारी सुशासन, प्रविधि र एकीकरण विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघमा आवद्ध जिल्ला विभिन्न सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा विभिन्न उपसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

