हेटौंडा \ बागमती सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले सहकारीको क्षेत्रमा देखिएका विकृतिलाई रोक्न नीतिगत रुपमा पहल गर्ने बताउनु भएको छ ।
शुक्रबार नमुना प्रगति बचत तथा ऋण सहकारीद्वारा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पछिल्लो समय गलत व्यक्तिका खराव ऋणका कारण सहकारीको क्षेत्रमा विभिन्न समस्या हरु देखा परेको र जसले गर्दा आम मानिसमा सहकारी प्रती नै शंकाको वातावरण सिर्जना भएको बताउदै मन्त्री श्रेष्ठले यसलाई नीतिगत रुपमै यसको समाधान गर्नुपर्ने बताउनुभयो ।
आफू सहकारी क्षेत्रको मन्त्री नभएपनी सरकारमा सहभागी सहकारी मन्त्रालय मार्फत जोडदार रुपमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नमुना प्रगति सहकारीको उपाध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले आफू लामो समय सहकारीको अभियानमा जोडिएर आम मानिसलाई सहकारी मार्फत आर्थिक सशक्तीकरण गराएको स्मरण गर्दै म लामो समय सहकारी आन्दोलन, सहकारी मार्फत मानिसको आर्थिक जीवनस्तर उकास्न भनी हिडियो तर अहिले सहकारीको क्षेत्रमा देखिएको समस्याले चिन्तित छु, यसको लागि विषयगत मन्त्री मार्फत विशेष पहल गर्छु । उहाले भन्नुभयो ।
यस्तै उहाँले सहकारीलाई थप मजबुत बनाउन नीतिगत के गर्नुपर्छ सल्लाह सुझाव दिन समेत आग्रह गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभयो ।
सहकारीका अध्यक्ष मिठाराम दाहालले सहकारी संचालक समितिका उपाध्यक्ष बागमती प्रदेश सरकारका गरिमामय मन्त्री बन्नुभएकोमा खुशी व्यक्त गर्दै बधाई दिनुभयो । सम्मान कार्यक्रममा सहकारी संचालक समितिका पदाधिकारी, सदस्यहरु र कर्मचारीको उपस्थिति थियो ।

