April 30, 2024
भदौ ३, २०७९

अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौँ वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

शुक्रवार काठमाण्डौमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक साधारण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिका लागि विशेष प्रस्ताव पेस गर्नुभयो । उहाँले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रणबाहिरको परिस्थिति उत्पन्न भइ निर्माण अवधि बढेर ऋणको भार बढी र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको बताउनुभयो ।

निर्देशक घिसिङले रोल्वालिङ ड्राइभर्सन, रोल्वालिङ खोला जलविद्युत् आयोजनाहरूको निर्माण र माथिल्लो तामाकोसी आयोजनाका लागि अपुग रकम अल्पकालीन ऋण लिएर सम्पन्न गरिएको हुँदा त्यो ऋण चुक्ता गर्नका लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएपछि विद्युत् गृहबाट निस्कने पानीलाई झन्डै आठ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोसी पाँचौँ आयोजना निर्माण गर्ने प्राधिकरणको लक्ष्य रहेको बताउनुभयो । त्यसका लागि पनि तामाकोसी जलविद्युत् सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको उहाँको भनाइ छ ।

घिसिङले रोल्वालिङ खोलाको पानीलाई सात किलोमिटर लामो सुरुङमार्फत लामाबगरमा तामाकोसी नदीबाट निर्मित जलाशयमा मिसाइ थप २०० सय गिगावट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत् उत्पादन गरी विस्तृत अध्ययन गर्ने बताउनुभयो । उहाँले यो आयोजना साढे चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

अहिले कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासनपछि चुक्ता पुँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । अहिले अपर तामाकोसीको प्रतिकित्ता शेयर मूल्य पाँच सय रुपैयाँभन्दा कम छ । तामाकोसीको १० करोड ५९ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *