स्वास्थ्य बिमा बोर्डले चैत २३ मा बोलाएको बैठकको कार्यसूची थियो, आगामी आर्थिक वर्षका लागि बजेट पारित गर्ने । पदाधिकारी र सदस्य उपस्थित बैठकमा बस्नै लागेका थिए, एकाएक जुनु श्रेष्ठ आइपुगिन्।

श्रेष्ठ बोर्डको बैठकमा आएपछि सबै चकित परे। किनकि, उनलाई ११ महिनाअघि नै बोर्ड सदस्यबाट हटाइसकिएको थियो।  उनलाई कसैले केही भन्न सकेनन्। बोर्डको बैठक बस्यो, श्रेष्ठ पनि बैठकमा सहभागी भइन्। बोर्ड बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

एघार महिनाअघि बोर्ड सदस्यबाट हटाइएकी श्रेष्ठ बैठकमा आउँदा पनि कसैले केही भन्न नसक्नुको कारण थियो, सरकार। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपकुमार साहको बलमा उनी बैठकमा आएकी थिइन्। श्रेष्ठ श्रममन्त्री साहकी पत्नी हुन्। २०८० मंसिर १४ मा तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतले श्रेष्ठलाई बोर्डको सदस्यमा नियुक्ति दिएका थिए। उनी केही दिन बोर्डको बैठकमा पनि उपस्थित भएकी थिइन्।