May 2, 2024
चैत्र १७, २०७९

चैत्र २० गतेलाई सहकारी संघ/संस्थाले आफ्नो पर्वको रुपमा लिने गरिन्छ । बखान सहकारी संस्थाबाट सुरु भएको सहकारी दिवस मनाउने कार्यक्रम अहिले सम्म निरन्तर रहि रहेको छ । आफ्नो संस्थामा विभिन्न कार्यक्रम गर्दै मनाइने सहकारी दिवस पछिल्लो वर्षहरुमा जिल्ला स्तरीय हुँदै अहिले प्रदेश स्तरीय सहकारी दिवस मनाउने गरिएको छ । चैत्र २० गते बागमती प्रदेशको राजधानी हेटौंडामा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेको छ । उक्त दिवस मनाउने बारे प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष एंव मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटासँग खबर सहकारी डटकमका प्रधानसम्पादक श्रीराम अर्जुनले गर्नुभएको कुराकानीको एक अंशः

 



राष्ट्रिय सहकारी दिवस मनाउने तयारी के के भइरहेको छ ?

चैत्र २० गते मनाउन गइरहेको राष्ट्रिय सहकारी दिवस मनाउन एक हजार ए सदस्य प्रदेश स्तरीय मुल समारोह समिति गठन गरिएका छौं । सचिवालय समेत निर्माण गरि काम गरिरहेका छौं । केहि दिनमात्रै मुल समारोह समितिले बैठक बसी दिवस लक्षित कार्यक्रम केके गर्ने भनी तय गरेका छौ र जिम्मेवारी बाँडफाडँ समेत गरि सकेको अवस्था छ । हामीले चैत्र १८ गते शनिबार हेटौंडाको बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम राखेका छौं । १९ गते दिउँसो ४ बजेतिर हेटौंडामा रहेको मानव सेवा आश्रममा फलफुल तथा खाद्यान्न सामाग्री वितरण गरिने कार्यक्रम रहेको छ भने चैत्र २० गते विहान भुटनदेवी विद्यालयको चौरमा दिवसको नारा सहित प्रभातफेरी गरि हेटौंडा परिक्रमा गरेर पल्पसा हलमा कोणसभामा परिणत भई कार्यक्रमलाई समापन गर्छौ । राष्ट्रिय सहकारी दिवस विस २०१३ साल चैत्र २० गते चितवनको बखान सहकारी दर्ता भएको दिन हो । सोही दिनलाई आधार मानेर हामीले राष्ट्रिय सहकारी दिवस मनाउन थालेका हौं ।

सहकारी संस्थाहरुले दिवसलाई कसरी लिएको छ ?

२०४८/०४९ मा नियमावली आएपछि सहकारी क्षेत्रमा गरेका कामहरु, सहकारी जुन ढङ्गले अघि बढिरहेको छ त्यो कामलाई व्यापक रुपमा सहकारीले कामहरु र सहकारी मार्फत सदस्यलाई विभिन्न उत्पादनशील क्षेत्र,प्रवद्र्धन क्षेत्र र बजारिकरण क्षेत्रमा ठुलो कम गरेको छ । त्यसैले पनि राज्यले तीन खम्बे अर्थ नीतिको रुपमा सहकारीलाई एक खम्बाको रुपमा लिएको छ । त्यसैले पनि अहिले सहकारी मुमेन्टमा जुन ढङ्गले अघि बढेको अवस्थामा केही न केही समस्या सहकारी क्षेत्रमा रहेता पनि ती समस्यालाई पनि निराकरण गर्दै हामीले अघि बढ्नुपर्छ भन्ने ढङ्गले यो सहकारी दिवस सबै सहकारी संस्थाले मनाउनृु पर्छ र मनाउने तयारीमा हामी सबै रहेका छौं ।

प्रदेश सहकारी बोर्डको कार्यकारी उपाध्यक्ष हुनुहुन्छ, आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा देखिन थालेको छ, आर्थिक तरलता न्यूनिकरण गर्न तपाईको भूमिका के रहन्छ ?

यो आर्थिक मन्दीको समस्या नेपालमा मात्र होइन विश्वव्यापी रुपमा आर्थिक मन्दी आइरहेको छ । यो आर्थिक मन्दी आइरहेने क्रममा सहकारी क्षेत्र पनि अछुतो रहन सकेन । त्यसैले पनि सहकारी क्षेत्रमा अहिले जुन मन्दी आइरहेको छ त्यो सहकारीले पनि भोगिरहेको अवस्था छ । सहकारीमा हामीले २० प्रतिशत तरलता सहकारीले ल्याएर राख्नुपर्छ भनी राखेका छौं त्यो तरलताले मात्रै ८० प्रतिशत लगानी गरेको हुन्छ । सदस्यका निक्षेप फिर्ता माग्न आए कठिन हुने अवस्था सिर्जना हुन्छ । सहकारीले एक महिना अघि नै कुन सदस्यको कसहले निक्षेप फिर्ता गर्नुपर्छ भन्ने कुराहरु व्यापक रुपमा विश्लेषण गरिनु जरुरी रहन्छ । विश्लेषण गरि सहकारी क्षेत्रमा सदस्यले राखेको पैसालाई व्यवस्थित ढङ्गले उसको समय पुगेपछि सदस्यले फिर्ता पाउनुपर्छ भन्ने ढङ्गले पनि हामीले सदस्यलाई संस्थाका अध्यक्ष, पदाधिकारी र व्यवस्थापकलाई पनि संयोजन गरिरहेका छौं ।

त्यो अवस्थामा मन्त्रालय, सहकारी महाशाखाले पनि आवश्यक संयोजन गरिरहेको छ र प्रदेश सहकारी बोर्डले यसको संयोजन, प्रवद्र्धन र विकासको विश्लेषणको रुपमा काम गर्ने हुनाले पनि म एउटा सहकारी मुमेन्टकै व्यक्ति भएकाले यसलाई व्यवस्थित गरि सदस्यहरु केन्द्रीत रहेर हामीले सहकारीका रकम, सदस्यका निक्षेप समयमै फिर्ता दिनुपर्छ । त्यो फिर्ता दिन सक्ने अवस्था सिर्जना गरेर अघि बढ्नुपर्छ । सदस्यलाई विश्वासमा पनि लिनुपर्छ । सहकारी मेरो हो, सहकारीले बदमास गर्दैन भन्ने विश्वास लिन र दिन सक्नुपर्छ । केही सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गरेको र त्यो कारणले पनि सहकारी संस्थाहरु गम्भिर संकटमा पुगेको अवस्था छ । त्यसले गर्दा राम्रो सँग चलिरहेको सहकारी संस्थालाई अलिकति गम्भिर रुपमा केही न केही असर पर्न थालेको छ ।

चैत्र २० गते प्रदेशस्तर मनाइने राष्ट्रिय सहकारी दिवसमा कत्तिको सहभागिता रहन्छन् ?

सहकारी क्षेत्रका सहकारी संस्थाहरु स्वतः स्फुर्त सहभागिता रहन्छ । हाम्रो यो दिवस दीगो रहोस् भनी सबैलाई आह्वान गरिएको छ । सहकारी संस्थाले झाँकीको कार्यक्रमहरु समेत रहेको छ । पर्यटन, उद्योग तथा मन्त्रालय, हेटौंडा उपमहानगरपालिकाले कार्यक्रममा प्रत्यक्ष रुपमा सहयोग गरेको छ । जिल्लामा रहेका सहकारी संस्थाले पनि यो दिवस कार्यक्रममा स्वतः स्फुर्त सहभागी बनी सहयोग गर्नेछन् ।
उनीहरुले यो हाम्रो सहकारी कार्यक्रम हो भन्ने अपनत्व जनाएका छन् । यस वर्षको नारा ‘सहकारी दीगोपन, स्वनियमन र सुशासन’ भन्ने रहेको छ । सोही नारा राखेर व्यानर बनाई संस्थाहरुमा राखिएको अवस्था समेत रहेको छ । विशेषगरि चैत्र २० गते साँझ दीपप्रज्वलन गरि दिवस मनाउन प्रदेशभरका सहकारी तयारी अवस्थामा रहेका छौं । कोभिड-१९ का कारण दुईवर्ष मनाउन नसकेता पनि गत वर्षबाट निरन्तर भव्यताका साथ मनाउन हामी जुटिसकेका छौं । सहकारीमा झन उर्जाशील छ सहकारी हाम्रो एउटा मुलमेरुदण्ड हो भन्ने ढङ्गले समूदायमा आधारित भएका सहकारी संस्थाको सदस्यहरुको उपस्थित हुन्छन् जस्तो लाग्छ ।

सहकारी दिवस मनाउने बारे जिल्ला र प्रदेशभरका सहकारीलाई के भन्नु हुन्छ ?

म प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष र मुल समारोह समितिको मुल संयोजक रहेकाले यस प्रदेश भित्र रहेका सम्पूर्ण जिल्लाका सहकारी संघ, विषयगत सहकारी संघ, सहकारी संस्थाहरुमा यस दिवस भव्यताका साथ मनाउनुहोस् भन्दछु । प्रदेश स्तरिय कार्यक्रम यहाँ हेटौंडामा मनाउने भएकाले मकवानपुर बाहिरका सहकारी संघ/संस्थाका प्रतिनिधिलाई यहाँ आउन आग्रह गर्दछु । आउन नसक्ने सहकारीकर्मी साथीहरुले जिल्लागत कार्यक्रममा सहभागिता जनाई भव्य रुपमा मनाउन आग्रह गर्दछु । विश्वमा १७८ औं सहकारी दिवस मनाईरहेको अवस्थामा हामी नेपालमा ६६ औं दिवस मनाइरहेका छौं । यस कार्यक्रमलाई निरन्तरता दिइनुपर्छ । सदस्य केन्द्रीत रुपमा सदस्यलाई सेवामूलक ढङ्गले र सदस्य आफैं स्वनियम ढङ्गले र सुशासन ढङ्गले अघि बढ्न सक्ने र सहकारी मार्फत नै आर्थिक क्रान्ति गर्न सक्ने अवस्था रहेको छ । त्यसैले ६६ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउन प्रदेशभरका सहकारी संघ/संस्थालाई आग्रह गर्दछु ।

धन्यवाद जय सहकारी