सेयर बजार परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक १.४० अङ्कले बढेर २६६५.५३ को विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभरमा कुल ३५८ कम्पनीका २ करोड १२ लाख कित्ता सेयर ५९ हजार पटक किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ। यद्यपि, समग्र बजारमा बढेका कम्पनीभन्दा घट्ने कम्पनीको संख्या धेरै देखिएको छ। आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

आजको बजारमा नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१.७० रुपैयाँ पुगेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीमा हकप्रद शेयर लगानीका लागि स्वीकृति प्रदान गरेको थियो । यसको प्रत्यक्ष प्रभाव आजको शेयर कारोबारमा देखिएको हो। हिमालयन रि-इन्स्योरेन्सको नाफा समेत ११.४८ प्रतिशतले बढेको छ । अन्य कम्पनीहरूको उतारचढाव भने एकल अङ्कमा मात्रै रहेको छ।  आज कारोबार रकमका आधारमा स्वेतगंगा हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै, घोराही सिमेन्टको ५१ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तेस्रोमा रहेको हिमालयन रि-इन्स्योरेन्स ३६ करोड ३ लाख रुपैयाँको कारोबार भयो ।

समूहगत रूपमा आज अन्य समूह सर्वाधिक ६.८१ प्रतिशतले बढेको छ । व्यापार समूह १.११ प्रतिशतले बढ्दा अन्य समूहमा सामान्य मात्रै उतारचढाव देखिएको छ।